हेटौंडा–७, नागस्वातीस्थित तासिर इङलिस बोर्डिङ स्कुलले विद्यार्थी सुरक्षालाई प्राथमिकतामा राख्दै प्रत्येक विद्यार्थीका लागि निःशुल्क दुर्घटना बीमा योजना सुरु गरेको छ। विद्यालयका अनुसार अब विद्यार्थीहरूलाई विद्यालयभित्र मात्र होइन, २४ घण्टा विद्यालय बाहिर हुने दुर्घटनामा समेत बीमा सुविधा उपलब्ध हुनेछ।
यस योजना अन्तर्गत प्रत्येक विद्यार्थीले एक वर्षमा अधिकतम १० वटा दुर्घटनासम्म बीमा दाबी गर्न पाउनेछन् भने एक दुर्घटनाबापत रु. १ लाखसम्मको रकम भुक्तानी गरिने व्यवस्था गरिएको छ। विद्यालयले जनाएको छ, यो बीमा योजना २०८३ जेठ १५ गतेदेखि लागू भई २०८४ जेठ १४ गतेसम्म कायम रहनेछ र आगामी वर्षहरूमा समेत निरन्तरता दिइनेछ।
विद्यालयमा हाल १३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। पछिल्लो समय शैक्षिक गुणस्तरका हिसाबले अब्बल मानिँदै आएको यस संस्थाले शैक्षिक क्षेत्रसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय भूमिका खेल्दै आएको छ। निःशुल्क बीमा योजना पनि त्यही सामाजिक उत्तरदायित्वअन्तर्गत ल्याइएको विद्यालय प्रशासनको भनाइ छ।
विद्यालयका सञ्चालक समाजसेवी राजन थापा र प्रिन्सिपल बिनोद थपलियाले यस्तो कार्यक्रमले अभिभावक र विद्यार्थी दुवैलाई सुरक्षा अनुभूति दिलाउने विश्वास व्यक्त गरेका छन्। “दुर्घटना अनपेक्षित हुन्छ, त्यसैले पूर्वतयारी आवश्यक हुन्छ,” विद्यालयले उल्लेख गरेको छ।
अभिभावकहरूले विद्यालयको यस पहललाई सकारात्मक रूपमा लिँदै विद्यार्थी सुरक्षामा थप भरोसा बढेको प्रतिक्रिया दिएका छन्। शिक्षण मात्र नभई सुरक्षा र सामाजिक जिम्मेवारीमा समेत उदाहरणीय कदम चाल्दै आएको तासिर स्कुलको यो पहललाई स्थानीयस्तरमा सराहना गरिएको छ।







प्रतिक्रिया