स्टन्डले उद्योग चल्दैन,हेटौंडा सिमेन्ट फेरि बन्द, दाबीको हावा निस्कियो

स्टन्डले उद्योग चल्दैन,हेटौंडा सिमेन्ट फेरि बन्द, दाबीको हावा निस्कियो

माननीयको सचिवालय माथि खडा भयो प्रश्न

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ बैशाख २०८३, ०८:४४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ बैशाख २०८३, ०८:४४

हेटौंडा, केही दिनअघि सञ्चालनमा आएको दाबी गरिएको हेटौंडा सिमेन्ट उद्योग फेरि उत्पादन बन्द भएपछि राजनीतिक ‘स्टन्ड’ माथि गम्भीर प्रश्न उठेको छ । मकवानपुरका प्रतिनिधि सभा सदस्य प्रकाश गौतम र उनको सचिवालयले उद्योग सञ्चालनमा आएको भन्दै प्रचार गरे पनि त्यो दाबी एक हप्ता पनि टिक्न सकेन ।
उद्योग परिसर वरपरको झाडी फडानी गरी ‘उद्योग सञ्चालन’ को दृश्य देखाइएको थियो। तर वास्तविक उत्पादन, कच्चा पदार्थ आपूर्ति, प्राविधिक तयारी र बजार व्यवस्थापनबारे ठोस आधार बिना गरिएको प्रचार अहिले विवादमा परेको छ। उद्योग स्रोतका अनुसार आवश्यक मर्मत, ऊर्जा आपूर्ति र व्यवस्थापन तयारी बिना स्थायी रूपमा उत्पादन सुरु गर्न सम्भव नभएको प्रष्ट छ।
स्थानीयवासी र सरोकारवालाहरूका अनुसार, फोटो–अवसर र प्रचारमुखी गतिविधिले उद्योग पुनर्जीवनको वास्तविक चुनौती लुकाउन खोजिएको थियो। “झाडी फडानी र केही मेसिन चलाएर उद्योग चलेको हुँदैन,” एक कर्मचारीले भने, “निरन्तर उत्पादनका लागि दीर्घकालीन योजना र लगानी चाहिन्छ।”
उद्योग लामो समयदेखि आर्थिक समस्या, पुराना मेसिन, कच्चा पदार्थ अभाव र व्यवस्थापन कमजोरीसँग जुध्दै आएको छ। यस्ता संरचनागत समस्याको समाधान बिना गरिएको प्रचारले जनतामा भ्रम सिर्जना गरेको भन्दै आलोचना भइरहेको छ। हेटौंडा सिमेन्ट उद्योग चलाउने भन्दै बहालवाला उद्योगमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको समेत तस्बिर सार्वजनिक गरेका सांसद गौतमले उद्योग बन्द भए पछी कुनै प्रतिक्रिया सार्वजनिक भने गरेका छैनन् ।
विशेषज्ञहरू भन्छन्, सार्वजनिक उद्योग चलाउन राजनीतिक घोषणा होइन, स्पष्ट व्यवसायिक योजना, दक्ष व्यवस्थापन र पारदर्शी निर्णय प्रक्रिया आवश्यक पर्छ। हेटौंडा सिमेन्टको पछिल्लो अवस्थाले यही तथ्यलाई फेरि उजागर गरेको छ।यसबीच, सांसद गौतम वा उनको सचिवालयले उद्योग पुनः बन्द हुनुबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर घटनाले देखाएको छ—क्षणिक ‘स्टन्ड’ ले होइन, दिगो नीतिले मात्र उद्योग चल्छ। उद्योग संचालन भएको र सिधै उद्योगबाट सिमेन्ट लिन सकिने उर्दी जारि गरेको गौतमको सचिवालयले हाल उद्योग बन्द पश्चात कुनै सार्वजनिक टिप्पणी समेत उठाउन सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस