नक्कली तालिमको नाममा लाखौं हिनामिना, अख्तियारको ठोस कारबाही

नक्कली तालिमको नाममा लाखौं हिनामिना, अख्तियारको ठोस कारबाही

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ बैशाख २०८३, १०:५० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ बैशाख २०८३, १०:५०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली तालिम सञ्चालन, गलत कागजात तयार गरी आर्थिक लाभ लिएको आरोपमा एक जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार प्रतिवादी दुर्गा भण्डारी (थापा) ले “कौशल विकास तालिम” नाममा कार्यक्रम सञ्चालन भएको देखाएर वास्तविकभन्दा फरक विवरण पेश गरी गैरकानुनी लाभ लिएको पुष्टि भएको हो।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चन्द्रपुर नगरपालिका–८ का स्थायी बासिन्दा भण्डारीले स्थानीय तहसँगको मिलेमतोमा तालिम सञ्चालन गरेको देखाउँदै कागजी प्रक्रिया पूरा गरे पनि वास्तविक रूपमा तालिम प्रभावकारी रूपमा सञ्चालन नभएको अनुसन्धानबाट खुलेको छ। कागजातमा उल्लेख गरिएअनुसार ३० दिनको तालिम भनिए पनि व्यवहारमा केही दिन मात्र सञ्चालन गरिएको र सहभागी तथा खर्च विवरणमा समेत हेरफेर गरिएको भेटिएको आयोगले जनाएको छ।

अनुसन्धान क्रममा सरकारी स्रोतको दुरुपयोग गरी झुट्टा विवरण तयार पारिएको, सार्वजनिक संस्थालाई हानी नोक्सानी पुर्‍याइएको तथा व्यक्तिगत लाभ लिइएको ठहर गरिएको छ। यस कार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर आकर्षित गर्ने आयोगको निष्कर्ष छ।

आयोगले मुख्य प्रतिवादीविरुद्ध ३ लाख ८२ हजार ३ सय रुपैयाँ बराबरको बिगो दाबी गर्दै सोही अनुसार जरिवाना र कैद सजाय मागदाबी सहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ। साथै, उक्त कार्यमा संलग्न अन्य व्यक्तिको भूमिकाबारे समेत थप अनुसन्धान भइरहेको आयोगले उल्लेख गरेको छ।

अख्तियारले यस्ता गतिविधिले सार्वजनिक विश्वासमा आँच पुर्‍याउने भएकाले कडा कारबाही आवश्यक रहेको जनाएको छ। आयोगले सरकारी तथा स्थानीय तहका कार्यक्रम सञ्चालनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सम्बन्धित निकायलाई समेत सचेत गराएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस