जिपले साईकल यात्रीलाई ठक्कर दिंदा साइकल यात्रीको घटना स्थलमै निधन भएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौराको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा पैदलयात्री घोडाघोडी –२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुर बस्ने ४५ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा रहेका छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । घाइते पदमबहादुर शाहीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।
जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।










प्रतिक्रिया