विगतमा भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि राप्रपा नेपालले निरन्तर आन्दोलन गर्दै आएको थियो। तर, विभिन्न कारणले गर्दा त्यसबखत सफल हुन नसके पनि जेन्जी युवा पुस्ताको त्याग र बलिदानले परिवर्तनको ढोका खोल्न संभव भयो। अब भ्रष्टाचार र कुशासनको अन्त्य हुनेछ तथा भ्रष्टाचारीहरूले टाउको उठाउन नसक्ने गरी कानुनको कठघरामा उभिनुपर्छ भन्ने जनताले आशा गरेका थिए।
भदौ २४ गते मध्यरातमा जेन्जी युवा पुस्ताको आन्दोलनलाई देशीविदेशी शक्तहरूले हाइज्याकु गरे । ठूलो जुक्ति लागाएरु व्यवस्था जोगाएको गर्व गर्दै गणतन्त्रका अवशेषहरूले भ्रष्ट व्यवस्थालाई निरन्तरता दिने घोषणा गरे । जनता र युवा पुस्ताको परिवर्तनको चाहना माथि तुसारापात गरे ।
अर्को तर्फ विगतमा सडकबाटै सरकार मात्र होइन व्यवस्था नै परिवर्तन गर्न उद्यत रहेका दलहरु अहिले निर्वाचनको विरोध गरिरहेका छन्। संविधानको दुहाइ दिएर भ्रष्ट व्यवस्थालाई निरन्तरता दिन खोजिरहेका छन्। जनताले आगामी निर्वाचनमा कांग्रेस र कम्युनिस्टलाई कुनै पनि हालतमा भोट दिने छैन ।
देशमा देखिएको संकट र जनआक्रोशको मूल कारण संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलता हो । यो विषयलाई संबोधन नगरी यथास्थितिलाई निरन्तरता दिनु भनेको जेन्जी आन्दोलन र जनताको परिवर्तनको चाहनाप्रति बेईमानी हुनेछ ।
राज्य संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, संवैधानिक परिषद र न्याय परिषद् सम्वन्धि व्यवस्था यथावत कायम राखेर गरिने निर्वाचनको कुनै औचित्य रहँदैन ।
जेन्जी युवाहरूको चाहना अनुरुप भ्रष्टाचार र कुशासन अन्त्य गर्ने वाचा गरेर प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएकी सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणाली, संवैधानिक अंगहरुमा नियुक्तिको व्यवस्था, राज्य संरचना र शासकीय स्वरूपलाई यथावत् कायम राखेर कसरी परिवर्तनको चाहना पुरा हुन्छ देश र जनतालाई जानकारी दिनुपर्छ। अहिले कै निर्वाचन प्रणालीलाई कायम राखेर हुने चुनावपछि राजनीतिक स्थिरता कायम हुनेछ भन्ने ग्यारेन्टी के प्रधानमन्त्रीले दिन सक्नुहुन्छरु
जेन्जी युवा पुस्ताको आन्दोलन सङ्गठित र संस्थागत नभएको कारणले गर्दा उनीहरूले परिवर्तनको स्पष्ट खाका तयार गरेका थिएनन्। भ्रष्टाचार र कुशासनको अन्त्य उनीहरूको एकमात्र लक्ष्य थियो। आन्दोलनको दौरानमा प्रदेश संरचनाको खारेजी, शासकीय स्वरूपमा परिवर्तन, हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको स्थापना जस्ता मागहरु पनि सडकमा उठेका थिए। ती सबै मागहरु पूरा गर्न तत्काल सम्भव हुँदैन थियो होला तर कमसेकम सरोकार वालाहरूको सर्वपक्ष बैठक बोलाएर त्यसमध्ये कति मागहरु पूरा गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न सकिन्थ्यो । तर त्यतापट्टि सरकार लागेको देखिन्न । सरकार यथास्थितिमा निर्वाचन गराउने कुरा दोहोर्याइरहेको छ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिको भवन ध्वस्त हुनु भनेको लोकतन्त्रमाथिको प्रहार हो। ती निकायहरू देशको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताका प्रतीक हुन्। कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाको भवन ध्वस्त बनाइएको सम्भवत विश्व इतिहासमा यो पहिलो घटना हो। जहाँ सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतको सुरक्षा हुन सक्दैन त्यहाँ सर्वसाधारण जनता कसरी सुरक्षित रहने,अहिले आम जनतामा यो चिन्ता रहेको छ। अन्तरिम सरकारले जनतालाई कसरी आश्वस्त पार्न सक्दछ त्यो अझ हेर्न बाँकी छ ।
मुलुकमा हाल विद्यमान विषम परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रको सुरक्षा तथा पार्टीले अवलम्बन गरेको हिन्दूराष्ट्र राजसंस्था र सुशासनको एजेन्डाको रक्षाका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनु जरुरी छ। देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण अहिलेको आवश्यकता हो। कार्यक्रममा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, गुरु सापकोटा,मन डिसि , दिलबहादुर बल, रमेश चौलागाईं ,भृगु कार्की लगायतले बोलेका थिए । थापाले देश भर रहेका कार्यकर्तालाई बिचलित नहुन समेत आग्रह गरेका थिए ।










प्रतिक्रिया