मकवानपुरको बकैया गाउँपालिका ५ मा भएको आगलागी बाट दुई तल्ले घर जलेर नष्ट भएको छ । बकैया–५, गरगरेमा शुक्रबार बिहान एक किराना पसलमा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आगलागीमा परी पसल सञ्चालक गम्भीर घाइते भएका छन् । स्थानीय लिलाराम जिम्बाको २ तल्ले पक्की घरमा रहेको किराना पसलमा बिहान ७ : ४५ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानअनुसार घर अगाडि बालेको दियोबाट पेट्रोलमा आगो सल्किँदा उक्त दुर्घटना भएको उनले बताए । पसल सञ्चालक जिम्बाले पेट्रोलको ड्रमबाट पेट्रोल खन्याउने क्रममा ड्रम पल्टिँदा आगो फैलिएको बताइएको प्रवक्ता अर्यालले बताए ।
आगो निभाउने क्रममा ४५ वर्षीय लिलाराम जिम्बाको दुवै हात र खुट्टा जलेर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा पछि थप उपचारका लागि चुरेहिल अस्पतालमा भर्ना गरिएको प्रवक्ता अर्यालको भनाई छ । उनको शरीरको अगाडिको भाग ४० प्रतिशत जलेको र अवस्था मध्यम रहेकोले थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित वर्न अस्पतालमा रिफर गरिएको छ ।










प्रतिक्रिया