गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापाका विरुद्धमा उजुरी

उजुरी

गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापाका विरुद्धमा उजुरी

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ जेष्ठ २०८२, ०९:५१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ जेष्ठ २०८२, ०९:५१

शक्ति र सत्ताको आडमा शक्तिको दुरुपयोग गरेको भन्दै गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापाका विरुद्धमा उजुरी परेको छ । भिजिट भिषामा मानब तस्करी गरेको आरोप लागेका मन्त्री लेखक माथि पुन अर्को उजुरी परेको हो ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । आफूमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापाका विरुद्धमा आयोगमा उजुरी दिएका हुन् ।

गृहमन्त्री र आईजीपीले अदालतको आदेशको समेत अवज्ञा गरेको भन्दै उनीहरूलाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । २०७७ साल असोज २० गते चलाउनेमाथि त्रिवि परिसरभित्रै कुटपिट भएको थियो । कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, नीरज रानामगर र दीपक ओझामाथि छानविन गरेको थियो ।

आचार्यसहित सात जनाविरुद्धमा ज्यानमार्ने उद्योगमा मुद्दा दायर भएको थियो । काठमाडौँ जिल्ला अदालतले २०८० मङ्सिर ७ गते दीपक ओझालाई सफाइ र ६ जनालाई २ वर्ष कैद, जरिवाना र क्षतिपूर्ति भराउने आदेश भएको थियो । उक्त मुद्दामा उच्च अदालत पाटनले समेत २०८१ साल माघ २२ गते क्षतिपूर्तिको रकम सामान्य हेरफेर बाहेक उक्त जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

दोषी ठहरिएका ६ जनामध्ये दुई जना सयुज श्रेष्ठ र रबिन कुमार लामा जिल्ला अदालतको फैसला पश्चातलगत्तै पक्राउ परेर जेल चलान भएका थिए । आफूमाथि आक्रमण गर्ने हत्याराहरू बाहिर छाती फुलाएर हिँडिरहेकाले आफ्नो ज्यान जोखिममा रहेको उनको भनाइ छ । आफ्नो शान्तिपूर्वक बाँच्न पाउने हकको रक्षा गरीदिन उनले आयोगलाई अनुरोध गरेका हुन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस