रक्सी र मासु खाएको बिल हेटौंडा अस्पतालबाट तिरेपछी अख्तियारमा उजुरी, अख्तियारले माग्यो कागजात

रक्सी र मासु खाएको बिल हेटौंडा अस्पतालबाट तिरेपछी अख्तियारमा उजुरी, अख्तियारले माग्यो कागजात

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ बैशाख २०८२, ०६:३१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ बैशाख २०८२, ०६:३१

एक महिनामै ८ लाख रुपैंयाको रक्सी र मासु सेवन गरी हेटौंडा अस्पतालको खाताबाट होटलको बिल भुक्तानी गरेपछी अख्तियारमा उजुरी परेको पाइएको छ ।

गत पुसमा मदिरा सेवन गरेको बिल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले हेटौंडा उपमहानगरपालिका-११ मा रहेको होटल स्मारकलाई झन्डै ८ लाख रुपैयाँ भुक्तानी गरेको सार्वजनिक भएको हो । बिल भुक्तानी भएपछी यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अख्तियारले हेटौंडा अस्पताललाई गत चैत ७ गते राय प्रतिक्रिया सहित कागजात पेश गर्न भनिएको पत्र सार्वजनिक भएपछी उक्त कुरा बाहिरिएको हो । अख्तियारको उक्त पत्र अनुसार अख्तियारमा उजुरी २०८१ साल माघ ९ गते परेको थियो । उजुरीमा मनोमानी रुपले खाता संचालन गरी रक्सी र मासु सेवन गरी होटेल स्मारकलाई भुक्तानी गरेको, फर्निचर र औषधी खरिदमा अनियमितता भएको भन्दै उजुरी परेको हो।

उजुरी पछी अख्तियारले गत चैत ७ गते अस्पताललाई पत्र काट्दै १५ दिन भित्र राय प्रतिक्रिया सहित सम्पूर्ण कागजातहरूको प्रमाणित प्रतिलिपि पठाउन भनेको हो । अख्तियारले अस्पताललाई आर्थिक वर्ष २०७९ । ८० र २०८०।८१ मा विनियोजित बजेटको शीर्षक खुल्ने कागजातहरु, होटेल स्मारकलाई भुक्तानी भएको नगद वा अनलाइनबाट भएको विल र भर्पाईहरु, स्वास्थ्य सेवा विभागले तयार पारेको “सफ्टवेयरमा बजेट ईन्ट्रि गरिएको प्रमाण खुल्ने कागजातहरुको प्रमाणित प्रतिलिपि, २०८०।८१ मा औषधी तथा औषधीजन्य सामाग्री खरिद सम्बन्धी स्वीकृत बजेट, लागत अनुमान, स्पेशिफिकेशन, भेरिफिकेशन, दाखिला प्रतिवेदन, विल भर्पाई र भुक्तानीसँग सम्बन्धित कागजातहरु तथा खरिद प्रकृयासँग सम्बन्धित सम्पूर्ण कागजातहरुको प्रमाणित प्रतिलिपि समेत झिकाएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७९ । ८० मा फर्निचरसँग स्वीकृत बजेट, लागत अनुमान, स्पेसिफिकेशन, भेरिफिकेशन, दाखिला प्रतिवेदन, विल भर्पाई र भुक्तानीसँग सम्बन्धित कागजातहरु तथा खरिद प्रकृयासँग सम्बन्धित सम्पूर्ण कागजातहरुको प्रमाणित प्रतिलिपि पनि मागेको छ ।

यस विषयमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले भने अख्तियारले दुख दिने मनसायले पत्र काटेको प्रतिक्रिया दिएका छन् ।

सानो रकम उल्लेख गरिएको उजुरीलाई अख्तियारले चासो नदिने र ठुलो रकम लेखिएपछी तुरुन्त चासोका साथ हेर्ने भएकाले अस्पताललाई उजुरी कै आधारमा मात्र पत्र काटेको हो, दुख दिने मनसायले मात्र गरेको देखिन्छ’, उनले भने ।

उनका अनुसार अख्तियारले १५ दिन भित्र राय प्रतिक्रिया पेश गर्न भनिएको भएपनि अस्पतालले कुनैपनि प्रतिक्रिया वा लिखित जवाफ पेश गरेको छैन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस