ललितपुर जिल्लाको दक्षिण भेगमा पर्ने महाङ्काल गाउँपालिका भित्रको अनियमितताले पछिल्लो समय निक्कै चर्चा पाउने गरेको छ । ललितपुरकै कर्णाली समेत भनेर चिनिने महाङ्काल गाउँपालिकाका जनप्रतिनिधि भने कागको फुल चोर्ने सम्म को बाठो रहेको पाहिएको हो । महाङ्काल गाउँपालिकामा ६ वटा वडा रहेको र सबै वडामा नेपाली कांग्रेसले वडा अध्यक्ष जिते पछी पालिका अध्यक्ष गणेश बहादुर के.सी लाई “ दृष्टिबिहिनलाई आँखा उपहार” भने जस्तै भएको छ । गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीले कार्यपालिकामा नेपालि कांग्रेसको बहुमत रहे पछी पालिकाको आर्थिक पाटोमा मनमौजी गर्दै आएको पाइएको हो ।
पालिका अध्यक्ष के.सीले पालिकाको आर्थिक ढुकुटी माथि चरम दोहन गर्ने गरेको पाइएको हो । पालिकाको आर्थिक अनियमियता गरेको भन्दै अध्यक्ष के.सी माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल काठमाण्डौमा मुद्धा दायरा भएको हो । पालिका अध्यक्ष के.सीले पटक पटकको मितिमा पालिकाको बजेट रकम अनियमितता गरेको प्रमाण सहित अख्तियारमा उजुरी परेको र अख्तियार कार्यालयले आवश्यक छानबिनको प्रक्रिया अगाडी बढाएको अख्तियार श्रोतको दावी रहेको छ ।
महाङ्काल गाउँपालिका ललितपुरका अध्यक्ष के.सीले २०८० साल कार्तिक १७ गते शुक्रवार राति आफ्ना कार्यालय सहयोगी माधब घिमिरेको घरमा बसी रातको ९ बजेको समयमा मादक पदार्थ सेवन गरि पालिकाको सवारी साधन बोलेरो जिप बा २ झ ५२ आफैले चलाई माथिल्लो गोटीखेल बलटोल वाट पालिका फर्कने क्रममा सरकारी गाडी सडक वाट अन्दाजी ३० मिटर तल दुर्घटना भएको र उक्त दुर्घटना वाट स्थानीय ललिता सिंतानको अस्थाई टहरा समेत क्षति भएको घटनाको छानबिन गर्न अख्तियारमा उजुरी परेको श्रोतको दावी रहेको छ । अत्याधिक मादक पदार्थमा आफ्नै शरिर कन्ट्रोल गर्न नसकेका अध्यक्ष के.सी आफैले उक्त सरकारी गाडी चलाएको र दुर्घटना भएको भन्दै अख्तियारमा उजुरी परेको अख्तियार श्रोतको भनाई रहेको छ ।
महाङ्काल गाउँपालिका अध्यक्ष के.सी ले मादक पदार्थ सेवन गरि सरकारी सवारी साधन चलाएको र उक्त सवारी साधन दुर्घटना पश्चात अध्यक्ष के.सी को सहयोगी माधव दाहाल र सुरज सिंतानले उक्त दुर्घटना भएको बोलेरो जिप को नम्बर प्लेट झिकी उक्त बोलेरो जिप बनाउन जुगल अटो वर्कसप स्वयम्भु काठमाण्डौ लागिएको र उक्त बोलेरो जिप मर्मत गरे बापतको रु ४ लाख ५६ हजार पालिका वाट दुई वटा बिल मार्फत भुक्तानी गरेको पाइएको हो । पालिका अध्यक्ष के.सीले व्यक्तिगत प्रयोजनको लागि त्यसमा पनि मदिरा सेवन गरि चलाएको सरकारी गाडीको मर्मत पालिकाको बजेट वाट गरिनुले पालिका अध्यक्ष गणेश बहादुर के.सी ले नीतिगत रुपमै पालिकाको बजेट चरम दोहन गरेको पुस्टि हुने आधार प्रमाण सहित अख्तियार कार्यालयमा उजुरी परेको श्रोतले बताएको छ ।
महाङ्काल गाउँपालिका अध्यक्ष गणेश बहादुर के.सी ले प्राय जसो मादक पदार्थ सेवन गरि सरकारी सवारी साधन आफैले चलाउने गरेको समेत स्थानीयले आरोप लगाएका छन । अध्यक्ष के सी ले स्थानीय बिकास निर्माणको काम हुने निर्माण कार्यको १० प्रतिसत रकम आफुले लिने गरेको समेत स्थानीय स्तरमा बताउदै आएको पाइएको छ । अध्यक्ष के.सीले विपद ब्यबस्थापन कोष अन्तर्गतको रकम समेत अनियमितता गरेको तथ्य बाहिरिएको छ ।
अध्यक्ष के.सी ले बिभिन्न शिर्षकमा पालिकाको बजेट चरम दोहन गर्न थाले पछी पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्टले रोक्न खोज्दा अध्यक्ष र हाकिम बीच बिबाद समेत भएको एक कार्यपालिका सदस्यले गुनासो गरे । २०७४ मा पालिका अध्यक्षको टिकट नपाउने भए पछी माओबादी कित्तामा बसाई सरेका के.सी २०७९ मा कांग्रेस ललितपुरे नेताको भजन मण्डली बने पछी पुन कांग्रेसमा प्रवेश गरेका थिए ।










प्रतिक्रिया