एउटै कोठाभित्र नेपाल चिहाउन सकिन्छ…

एउटै कोठाभित्र नेपाल चिहाउन सकिन्छ…

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०३:५४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०३:५४

विविधताले भरिएको नेपाल कला, साहित्य, संस्कृति, भेषभूषा, रहनसहन, प्रकृति, जीवनशैलीलगायत हरेक क्षेत्रमा पृथक छ।

विविधताको दृश्यपान एकै व्यक्तिले एकैपटक गर्छु भन्नु अतिशयोक्ति नहोला। मेचीदेखि महाकाली अनि हिमालदेखि तराईसम्मको मौसम, परिवेश अनि परिस्थिति नियाल्न एक व्यक्तिलाई असम्भवप्रायः जस्तै छ। यो चाहेर पनि परिस्थिति अनुकूल नहुन सक्छ।

यदि कसैले त्यस्तै चाहना राख्छ भने काठमाडौं, बबरमहलस्थित ‘नेपाल आर्ट काउन्सिल’ भित्र केही मात्रामा भए पनि नेपाल नियाल्न सकिन्छ। विविधताले भरिएको नेपाल अनि नेपालीलाई नजिकबाट चिहाउन सकिन्छ।

यो अवसर नेपालमा कार्यरत फोटो पत्रकारहरूको समूह ‘पिजे क्लब’ले जुराएको हो।

‘नेपाल फोटो कन्टेस्ट’ प्रतियोगिताअन्तर्गत उत्कृष्ट फोटोे प्रदर्शनीमा देशभरका फोटोग्राफरले कला, साहित्य, संस्कृति, जीवनशैली, खेल, प्राकृतिक सुन्दरतालगायत विविधता झल्किने फोटो अवलोकन गर्न सक्छन् आर्ट काउन्सिलमा।

त्यहाँ ८३ फोटोग्राफरका १ सय ७५ फोटो प्रदर्शनीमा छन्। भनिन्छ, एउटा तस्बिरले हजारभन्दा बढी शब्दको भावार्थ बोकेको हुन्छ। आर्ट काउन्सिलको दोस्रो तल्लामा जारी प्रदर्शनीमा साँच्चिकै सिंगो नेपाल पढ्न पाइन्छ।

‘फोटो अफ द इयर’ सहित सात विधामा सम्पन्न प्रतियोगितामा मुलुकभरका ७ सय १५ जना फोटोग्राफरका ६ हजार २ सय २५ फोटोमध्येबाट छनोट गरिएका उत्कृष्ट १ सय ७५ फोटो क्लबले प्रदर्शनीमा राखेको छ। जसले नेपाल र नेपालीका विविध पक्षलाई बृहत्तर रूपमा व्याख्या गर्न सहज गरिदिएको छ।

देशका अनेक रूपलाई एउटै घरभित्र, एउटै कोठाभित्र चिहाउन चाहनुहुन्छ भने तपाईंका लागि आर्ट काउिन्सलमा फागुन २० गतेसम्म यो अवसर उपलब्ध छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस