थरुहटको बन्दले दाङको जनजीवन प्रभावित

थरुहटको बन्दले दाङको जनजीवन प्रभावित

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०१:३७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०१:३७

थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण दाङसहित आसपासका जिल्लाहरूको जनजीवन बिहानैदेखि प्रभावित भएको छ।

मोर्चाले कैलाली घटनामा मुख्य योजनाकार मानिएका सांसद रेशम चौधरीलगायत ११ जनाको बिनासर्त रिहाइको माग गर्दै मंगलबार र बुधबार बन्दको आह्वान गरेको छ।

थरुहटको आमहड्तालका कारण जिल्लामा शिक्षण संस्था, यातायात, बजार, उद्योग र कलकारखाना सबै ठप्प बनेका छन्।

थुनामा रहेका सांसद थारुसहित अन्य ११ जना कैदीबन्दीहरूको रिहाइका लागि सरकारलाई दबाब दिन भन्दै दुई दिने बन्द आह्वान गरिएको मोर्चाका दाङ जिल्ला अध्यक्ष जानकुलाल चौधरीले जानकारी दिए।

राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजन समितिका महासचिव तुलसी थारुले तीन दिनअगाडि एक प्रेस विज्ञप्तिमार्फत् बन्दबारे जानकारी दिएका थिए।

टिकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न,पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समितिको प्रतिवेदन सार्वजनिक गर्न, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न तथा सर्वदलीय संसदीय समितिको प्रतिवेदन पनि सार्वजनिक गर्न मोर्चाले माग गरेको छ।

मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले ती माग पूरा नभए फागुन १ गतेदेखि आन्दोलन गर्ने दाङमा बताएका थिए। त्यतिखेर उनले १२ बुँदे माग गर्दे कैलालीमा अनसन समेत बसेका थिए।

तर पछिल्लो समय थप दुइटा माग थपेर १४ बुँदे माग गर्दै मोर्चाले आन्दोलन थालेको छ। उसका थपिएका नयाँ मागमा दाङलाई प्रदेश नं. ५ को राजधानी तोकिनुपर्ने र बाँके, बर्दियालाई प्रदेश नं. ६ मा मिलाउन नहुने बुँदा थपिएका छन्।

मोर्चाका दाङ जिल्ला संयोजक जनकुलाल चौधरीले थारु पहिचान भएका जिल्लाहरु एउटै प्रदेशमा राख्नु पर्ने माग गरे।

‘थारु पहिचना भएका बाँके, बर्दियालाई छुट्टै प्रदेशमा राखेर थारु माथि षडयन्त्र गर्न खोजिएको छ,’ चौधरीले भने, ‘हामीलाई त्यो कदापी मान्ने हुनेछैन,’ प्रदेश नं. ५ को केन्द्र भागमा दाङ जिल्ला अवस्थित रहेको हुँदा प्रदेश राजधानी दाङ बनाउनुपर्ने उनले जिकिर गरे।

थरुहटको आमहडताललाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाल लगायत संघसंस्थाले ऐक्यबद्धता रहेको चौधरीले जानकारी दिए।

आन्दोलनकारीले मूलका तराई जिल्ला कैलालीदेखि कञ्चनपुरसम्म बिहानैदेखि बन्दको प्रभाव रहेको दाबी गरेका छन्।

Source: setopati.com

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस