नेपाली कम्युनिस्ट पार्टी मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार लवशेर विष्टले आम जनताको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का कार्यकर्तासँगको आज अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमाले–कांग्रेसको बहुमत सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकै कारण देशमा जेन–जि विद्रोह भएको दाबी गरे।
विष्टले जेनजिको भावना नेपाली कम्युनिस्ट पार्टीले मात्र बोकेको उल्लेख गर्दै देशको समृद्धिको नेतृत्व पनि नेकपाले गर्ने बताए। उनले जनताको भरोसा र सहभागिताबाट मात्रै मुलुकको वास्तविक रूपान्तरण सम्भव हुने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री कुमारी मोक्तानले देशब्यापी पाचकुने ताराको माहोल बढेको र मकवानपुरमा पहिलो पार्टी बन्ने दाबी गरे ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य किशोर बर्तौलाले जसको निति उसकै नेतृत्व हुनु आवश्यक रहेको बताए । हेटौंडा ११ लाई असली कम्युनिस्टको किल्ला बनाउन जरुरी रहेको उनले बताए ।
शहीद स्मारक नजिक रहेको थाहा भवनमा सम्पन्न कार्यक्रममा नेता सागर बानियाँले यो पटक मतदाताले तारा चुनाव चिह्नमा मतदान गर्न उत्सुक रहेको बताए । बानियाँले उम्मेदवार विष्टलाई जिताउन स्थानीयहरू स्वतस्फूर्त चुनावी प्रचारमा सक्रिय भएर लागिरहेको बताए ।
११ नम्बर पार्टी संयोजक रामकृष्ण बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेताहरू ललित घलान, वीरबहादुर घलान ‘ज्वाला’, विवेक राई, बालकुमार मल्ल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपाका प्रदेश सचिवालय सदस्य सागर बानियाँको संयोजकत्वमा १०१ सदस्यीय ११ नम्बर वडा स्तरीय प्रचारप्रशार समिति गठन गरिएको छ । समितिको सहसंयोजकहरूमा रामकृष्ण बस्नेत, शुक्र लामा, मधुकुमार थापा, देवनारायण चौलागाई रहेका छन् । उमेदवार विष्टले थाहा नगरपालिकाको मेयर हुँदा गरेको कामको समेत स्थानीय स्तरमा चर्चा हुने गरेको पाइएको छ ।










प्रतिक्रिया