कैलाशमा राप्रपा उम्मेदवार थोकरको चुनावी अभियान

थोकरका चुनावी कुरा

कैलाशमा राप्रपा उम्मेदवार थोकरको चुनावी अभियान

बाँझोखेतमा प्रचार प्रसार समिति गठन, चार वटा वडा लक्षित सम्पर्क कार्यालय स्थापना

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२८ माघ २०८२, ०७:०५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२८ माघ २०८२, ०७:०५

मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका रामबहादुर थोकरले आफ्नो चुनावी अभियानलाई गाउँगाउँसम्म विस्तार गर्ने क्रमलाई तीव्रता दिएका छन् ।
निर्वाचन नजिकिँदै जाँदा उनले संगठन विस्तार, वडास्तरिय संरचना निर्माण र मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै अभियान अघि बढाइरहेका छन् । यसैक्रममा कैलाश गाउँपालिकाभित्र वडास्तरिय प्रचार प्रसार समिति गठनदेखि संयुक्त निर्वाचन सम्पर्क कार्यालय स्थापना सम्मका काम भएका छन् । थोकरको यस कार्यले जिल्लाको क्षेत्र नम्बर २ मा राप्रपाको चुनावी गतिविधिलाई थप सक्रिय बनाएको छ ।
कैलाश गाउँपालिका वडा नम्बर १० बुधबार बाँझो खेतमा आयोजित भेलामार्फत वडास्तरिय प्रचार प्रसार समिति गठन गरिएको हो । भेलामा उम्मेदवार थोकर स्वयं प्रमुख अतिथिका रूपमा उपस्थित थिए । बिनबहादुर सिन्तानको अध्यक्षतामा भएको अगुवा भेलाले औपचारिक रूपमा समिति गठन गरेको हो । भेलामा सहभागी स्थानीय अगुवा, कार्यकर्ता तथा समर्थकहरूले आगामी निर्वाचनमा राप्रपाको पक्षमा जनमत निर्माण गर्न संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
एघार सदस्यीय प्रचारप्रसार समितिको संयोजकमा चिन बहादुर सिन्तान चयन भएका छन् भने सहसंयोजकको जिम्मेवारी विमल तितुङले पाएका छन् । सचिवको रूपमा रामलाल गोले रहेका छन् । यस्तै, सदस्यहरूमा डोल्मा वाइवा, इशान थोकर, राम लामा, युनिक थोकर, हिरा स्याङतान, पार्वती लामा, अमृता लामा र लक्ष्मी थोकर छन् । पार्टीका जिल्ला सदस्य तथा अनुगमन संयोजक रामु रिजाल र क्षेत्र नम्बर १ का सचिव संगीन श्रेष्ठको आतिथ्यतामा भएको भएको भेलाले वडास्तरिय प्रचार प्रसार समिति गठन गरेको हो । समिति गठनसँगै कैलाशको १० नम्बर वडामा चुनावी प्रचारलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।
उम्मेदवार थोकरको चुनावी रणनीति अनुसार संगठन सुदृढीकरण र मतदातासँगको प्रत्यक्ष सम्पर्कलाई सँगसँगै अघि बढाइएको छ । यसै सन्दर्भमा कैलाश गाउँपालिकाका वडा नम्बर ३, ४, ७, ८ र ९ लाई लक्षित गर्दै संयुक्त निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । यो कार्यालयबाट प्रचार प्रसार सामग्री वितरण, मतदातासँग समन्वय, कार्यक्रम तालिका व्यवस्थापन तथा कार्यकर्ताबीच नियमित सम्पर्क कायम राख्न सहज हुने अपेक्षा गरिएको छ । गाउँपालिकाभित्रका विभिन्न वडालाई समेटेर स्थापना गरिएको यस सम्पर्क कार्यालयले चुनावी गतिविधिलाई केन्द्रित र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार थोकर मंगलबार आफ्नै जन्मस्थान मकवानपुरको कैलाश गाउँपालिकास्थित नामटारको मर्‍याङकोट पुगेका थिए ।उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नै गाउँ फर्किएका उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए । कार्यक्रममा उपस्थित स्थानीयवासीले उनलाई भव्य स्वागत गरेका थिए भने आगामी निर्वाचनमा जितको अग्रिम बधाईसमेत दिएका थिए ।
उम्मेदवार थोकरले पार्टीबाट टिकट पाएपछि उम्मेदवारी दर्ता गरेर निरन्तर चुनावी अभियानमा सक्रियता बढाउँदै आएका हुन् । उनले विशेषगरी घरदैलो कार्यक्रम, अन्तरसंवाद र प्रत्यक्ष भेटघाटलाई अभियानको मुख्य आधार बनाएका छन् । गाउँबस्ती, टोल, सार्वजनिक स्थल तथा स्थानीय भेला मार्फत मतदाताको गुनासा, सुझाव र अपेक्षा सुन्दै आएका उनी आफ्नो पक्षमा जनसमर्थन निर्माणमा केन्द्रित देखिन्छन् ।
घरदैलोका क्रममा उनले मतदातासामु वर्तमान राजनीतिक अवस्था र दलहरूको भूमिकाबारे आफ्ना धारणा राख्दै आएका छन् । उनका अनुसार नेपालका राजनीतिक दलहरूले आफ्नो स्वार्थका लागि जस्तोसुकै कुकर्ममा लिप्त हुने प्रवृत्ति देखाएकाले देशको धर्म, नागरिकको अधिकार र समग्र विकासको पक्षमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको छ । यही उद्देश्यसहित आफूहरू निर्वाचनमा होमिएको उनले बताउने गरेका छन् ।
‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई’ भन्ने सन्देशसहित राप्रपा चुनावी मैदानमा उत्रिएको बताउँदै उनले मतदातालाई आफ्नो पक्षमा मत दिन आग्रह गरिरहेका छन् । पार्टीले अघि सारेका एजेन्डामा राजसंस्था पुनःस्थापना, सुशासन, देशलाई हिन्दु राष्ट्र घोषणा गर्ने विषय तथा नागरिकको समग्र विकास प्रमुख रहेका छन् । यिनै मुद्दालाई लिएर आफू र आफ्नो पार्टी जनताबीच पुगेको उनले विभिन्न कार्यक्रममा दोहोर्‍याउँदै आएका छन् ।

कैलाश गाउँपालिकामा राप्रपाको समिति गठन र सम्पर्क कार्यालय स्थापना जस्ता गतिविधिले चुनावी अभियानलाई संगठित ढंगले अघि बढाउने आधार तयार गरेको देखिन्छ । संगठनात्मक संरचना मजबुत बनाउँदै प्रत्यक्ष संवादलाई प्राथमिकता दिने रणनीतिसहित उम्मेदवार थोकर क्षेत्र नम्बर २ मा आफ्नो चुनावी उपस्थिति सशक्त बनाउने प्रयासमा छन् । निर्वाचन मिति नजिकिँदै जाँदा उनले गाउँगाउँ पुगेर मतदातासँग सम्बन्ध विस्तार गर्दै आफ्नो पक्षमा जनमत निर्माण गर्ने अभियानलाई तिब्र बनाइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस