घरआँगन, मठमन्दिर र चोकचौतारीमा थोकर

निर्वाचनका कुरा

घरआँगन, मठमन्दिर र चोकचौतारीमा थोकर

निर्वाचन जित्नेमा ढुक्क छन् थोकर

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ माघ २०८२, ०९:५५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ माघ २०८२, ०९:५५

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार रामबहादुर थोकर औपचारिकताभन्दा बाहिर निस्किएर जनताको घरआँगन, मठमन्दिर र चोकचौतारीसम्म पुगिरहेका छन् । उम्मेदवारी दर्ता गरेलगत्तै उनले आफ्नो क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने, आफ्ना राजनीतिक धारणा राख्ने र मत माग्ने अभियानलाई तीव्र बनाएका छन् ।

आइतबार उनको चुनावी यात्रा हेटौँडा उपमहानगरपालिका–३, बसामाडीस्थित बसाहा मन्दिरमा पुगेर थप अर्थपूर्ण बन्यो । मन्दिर परिसरमा थोकरले स्थानीय नागरिकसँग केवल औपचारिक भेटघाट मात्र गरेनन्, उनीहरूका पीडा, गुनासा र अपेक्षालाई ध्यानपूर्वक सुने । धार्मिक स्थलमा उनको उपस्थिति संयोग मात्र थिएन । नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न वर्षौंदेखि आवाज उठाउँदै आएको राप्रपाको धारणा र राजनीतिक प्रतिबद्धताको सन्देश बोकेर उनी त्यहाँ पुगेका थिए ।

‘हिन्दु धर्मको संरक्षण गर्नु मेरो दायित्व हो ।’ स्थानीयसँगको संवादमा उनले भने, ‘हाम्रो पार्टी एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई भन्ने सन्देशसहित यो चुनावमा होमिएको छ ।’ मन्दिर परिसरमै उनले राष्ट्र, राष्ट्रियता र राजसंस्थाको संरक्षणका लागि राप्रपालाई मत दिन आग्रह गरे । राष्ट्रियताको जगेर्ना र दीर्घकालीन संरक्षणका लागि आफ्नो पार्टीलाई साथ दिन उनले मतदातासँग अपिल गरे ।

थोकरको चुनावी अभियानको केन्द्रबिन्दु भनेको मतदातासँगको प्रत्यक्ष संवाद हो । उनी मत माग्न मात्र होइन, जनताका कुरा सुन्न, उनीहरूको जीवनसँग गाँसिएका समस्या बुझ्न र अपेक्षालाई आत्मसात् गर्न घरदैलोमा पुगेका छन् । हेटौँडा, मकवानपुरगढी, थाहा नगरपालिका, इन्द्रसरोवर, राक्सिराङ, मनहरीलगायत क्षेत्रका विभिन्न बस्तीमा उनले घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदाताको दैलोमै संवाद गरेका छन् । यस क्रममा नागरिकको दैनिक जीवनसँग जोडिएका कठिनाइ, विकासप्रतिको चाहना र राजनीतिक नेतृत्वप्रतिको भरोसा तथा निराशा उनले नजिकबाट महसुस गरेका छन् ।

घरदैलोका क्रममा प्राप्त सुझाव र धारणा आगामी दिनमा आफूले निर्वाह गर्ने राजनीतिक भूमिकामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै थोकर सधैं जनताको मुद्दा बोकेर अघि बढ्ने बताउँछन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी विगतदेखि नै संवैधानिक राजसंस्थाको स्थापनाका लागि निरन्तर संघर्षरत राजनीतिक शक्ति भएको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिमा राप्रपा नै मुलुकको वास्तविक वैकल्पिक शक्ति भएको दाबी गर्छन् । कांग्रेस, कम्युनिष्ट र नयाँ राजनीतिक दलहरू सबै गणतन्त्रको पक्षमा उभिएको अवस्थामा त्यसको विकल्पका रूपमा राप्रपा अघि आएको र पार्टी राष्ट्र, राष्ट्रियता तथा परम्परागत मूल्यमान्यताको संरक्षणमा दृढ रहेको उनले मतदातामाझ स्पष्ट पारेका छन् । लामो समयदेखि राजनीतिमा सक्रिय थोकरले आफ्ना राजनीतिक यात्रामा अनेक उतारचढाव अनुभव गरेका छन् । ती अनुभवकै आधारमा उनी मकवानपुर क्षेत्र नम्बर २ का मतदातामाझ आफूलाई जिम्मेवार, परिपक्व र जनउत्तरदायी उम्मेदवारका रूपमा प्रस्तुत गर्दै विश्वास जित्ने प्रयासमा छन् । जनतासँग आँखामा आँखा जुधाएर संवाद गर्ने, गुनासा सुन्ने र समाधानको आश्वासन दिने उनको शैलीलाई मकवानपुर क्षेत्र नम्बर २ का मतदाताले मन पराएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस