२१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले मकवानपुर जिल्लाको क्षेत्र नम्बर २ मा चुनावी गतिविधिलाई तीव्र बनाएको छ । राप्रपाका तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थोकरले वडास्तरबाटै संगठित रूपमा प्रचारप्रसार अभियानको थालनी गर्दै जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेका छन् । यही क्रममा शुक्रबार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा वडास्तरीय प्रचारप्रसार समिति गठन गरिएको छ, जसले स्थानीय तहबाटै चुनावी गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
लक्ष्मी नगरकोटीको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा शिव नगरकोटी सहसंयोजक तथा सुमन नगरकोटी सचिव रहेका छन् । समितिका सदस्यहरूमा सुमित्रा नगरकोटी, गीताकुमारी थापा, प्रमिला नगरकोटी, मञ्जरी नगरकोटी, सबिना नगरकोटी र चिनीमैया नगरकोटी रहेका छन् । उम्मेदवार रामबहादुर थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाका बीच समिति गठन गरिएको हो, जहाँ आगामी दिनमा गरिने प्रचारप्रसारका कार्यक्रम, घरदैलो अभियान र मतदाता भेटघाटलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो ।
भेलामा राप्रपा क्षेत्र नम्बर २ का उपाध्यक्ष पूर्णिमा लोप्चन, क्षेत्र नम्बर १ का सचिव संगीन श्रेष्ठ, रामसंघका केन्द्रीय सचिव सरस्वती थिङ, जिल्ला अध्यक्ष उर्मिला लामा, राप्रयुसंघका जिल्ला अध्यक्ष किशोर खत्री, जिल्ला सदस्य विकास अधिकारीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । नेताहरूले वडास्तरबाट सुरु भएको यो अभियानले पार्टीको संगठन मजबुत बनाउँदै मतदातासँगको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।
चुनावी मैदानमा उत्रिएपछि उम्मेदवार थोकरले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सल्ले, वडा नम्बर ३ सिस्नेरी, कुलेखानी, कलंकी, मार्खु, थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङलगायत स्थानमा स्थानीय नागरिकसँग भेटघाट र संवाद गरिसकेका छन् । उनले प्रत्येक स्थानमा पुगेर मतदाताका धारणा सुन्ने, उनीहरूको समस्या बुझ्ने र आफ्नो राजनीतिक प्रतिबद्धता स्पष्ट गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् ।
राप्रपाबाट उम्मेदवार बनेपछि थोकरले मकवानपुर क्षेत्र नम्बर २ का मतदातासँग प्रत्यक्ष भेट्ने, मत माग्ने र उनीहरूका गुनासा तथा अपेक्षा सुन्ने कार्यलाई आफ्नो अभियानको मुख्य आधार बनाएका छन् । चुनावी अभियानअन्तर्गत हेटौँडा, मकवानपुरगढी, थाहा नगरपालिका र मनहरीलगायत क्षेत्रका विभिन्न बस्तीमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै उनले मतदाताको घरआँगनमै पुगेर संवाद गरेका छन् । यस क्रममा उनले नागरिकको दैनिक जीवनसँग जोडिएका समस्या, विकासप्रतिको चाहना र राजनीतिक नेतृत्वप्रतिको अपेक्षा नजिकबाट बुझेका छन् ।
घरदैलोका क्रममा प्राप्त सुझाव र धारणा आगामी दिनमा आफूले निर्वाह गर्ने राजनीतिक भूमिकामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै थोकरले आफू सधैं जनताको मुद्दा बोकेर अघि बढ्ने संकल्पमा रहेको स्पष्ट पारेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी विगतदेखि नै संवैधानिक राजसंस्थाको स्थापनाका लागि निरन्तर संघर्षरत राजनीतिक शक्ति रहेको उल्लेख गर्दै वर्तमान अवस्थामा राप्रपा नै मुलुकको वास्तविक वैकल्पिक शक्ति भएको दाबी गरे । कांग्रेस, कम्युनिष्ट तथा नयाँ राजनीतिक दलहरू सबै गणतन्त्रको पक्षमा उभिएको अवस्थामा त्यसको विकल्पका रूपमा राप्रपा अघि आएको र पार्टी राष्ट्र, राष्ट्रियता तथा परम्परागत मूल्य–मान्यताको संरक्षणमा दृढ रहेको उनले मतदातामाझ बताएका छन् ।
भेटघाट र घरदैलो कार्यक्रमका क्रममा उनले राष्ट्र, राष्ट्रियता र राजसंस्थाको संरक्षणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मत दिन आग्रह गर्दै आएका छन् । राष्ट्रियताको जगेर्ना र संरक्षणका लागि राप्रपालाई विजयी गराउन आवश्यक रहेकोमा जोड दिँदै उनले मतदाताको घरआँगनमै पुगेर समर्थनको अपिल गरिरहेका छन् । उनका अनुसार घरदैलो अभियान केवल प्रचारको माध्यम मात्र नभई जनताको आवाज प्रत्यक्ष रूपमा बुझ्ने, उनीहरूको समस्या नजिकबाट जान्ने र त्यसअनुसार नीति तथा कार्यक्रम तय गर्ने महत्वपूर्ण अवसर हो ।
लामो समयदेखि राजनीतिक यात्रामा सक्रिय रहेका थोकरले अनेक उतारचढावपूर्ण अनुभव सँगालेका छन् । यही अनुभवका आधारमा उनले मकवानपुर क्षेत्र नम्बर २ का मतदातामाझ आफूलाई जिम्मेवार, परिपक्व र जनउत्तरदायी उम्मेदवारका रूपमा प्रस्तुत गर्दै विश्वास जित्ने प्रयास गरिरहेका छन् ।










प्रतिक्रिया