मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर थोकरले चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवादमा आफूलाई केन्द्रित गरेका छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उनी दैनिकजसो मतदाताको घरआँगनमा पुगेर उनीहरूका गुनासा, अपेक्षा र सुझाव सुन्ने अभियानमा सक्रिय देखिएका छन्।
चुनावी अभियानकै क्रममा थोकरले थाहा नगरपालिका-७ देउराली भञ्ज्याङ, थाहा नगरपालिका(२ पालुङ, थाहा नगरपालिका-११ टिष्टुङ तथा नौखण्डे क्षेत्रमा पुगेर स्थानीय मतदातासँग भेटघाट तथा छलफल गरेका छन्। घरदैलो कार्यक्रममार्फत उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक धारणा, भावी योजना र प्रतिबद्धता प्रस्तुत गरेका छन्। मतदाताको विश्वास जित्ने र आफू पनि जनताको भरोसायोग्य प्रतिनिधि बन्ने उद्देश्यका साथ उनले घरदैलो अभियानलाई चुनावी रणनीतिको मुख्य आधार बनाएका हुन्।
उनको सचिवालयका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै थोकर निरन्तर रूपमा गाउँ–टोल र बस्तीमा पुगिरहेका छन्। यसअघि पनि उनले हेटौँडा-१९, मकवानपुरगढी-५ र मनहरी-९ क्षेत्रका केही ठाउँमा घरदैलो गरेका छन्। ती स्थानमा स्थानीयवासीसँग भेटघाट गर्दै उनले जनताका समस्या सुन्नुका साथै तिनको समाधानका लागि आफूले निर्वाचित भएपछि आफूले खेल्ने भूमिकाबारे प्रष्ट पारेका छन् ।
उम्मेदवार थोकरका निर्वाचन सचिवालयका संगीन श्रेष्ठका अनुसार, थोकरले मतदातामाझ ‘राष्ट्र, राष्ट्रियता र राज संस्था जोगाउन राप्रपालाई मत दिन आव्हान गरेका छन् । राष्ट्रियताको जगेर्ना र संरक्षणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिँदै थोकर मतदाताको घरआँगनमै पुगेर समर्थनका लागि अनुरोध गरिरहेका छन्।
मकवानपुरको कैलाश गाउँपालिका-१०, साविक नामटार गाविस मर्याङकोटमा जन्मिएका रामबहादुर थोकर विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका अनुभवी र परिपक्व व्यक्तित्व हुन्। लामो राजनीतिक अनुभव बोकेका उनी मकवानपुर क्षेत्र नम्बर २ का मतदातामाझ आफूलाई जिम्मेवार र परिपक्व उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन्। उनले जनताको जीवनशैली परिवर्तन गर्दै समग्र विकासको दिशामा मुलुकलाई अघि बढाउने उद्देश्यले उम्मेदवारी दिएको बताउँदै आएका छन्।
थोकरले पछिल्लो समय नेपालमा देखिएको ‘जेनजी’ अर्थात् नवपुस्ताको आन्दोलन र त्यसले व्यक्त गरेको चाहना तथा भावनालाई आत्मसात् गर्ने प्रयास गरिरहेको पनि उल्लेख गरेका छन्। विकास, सुशासन र भ्रष्टाचार अन्त्यका विषयलाई प्रमुख एजेन्डा बनाएर संसदमा प्रभावकारी भूमिका खेल्ने आकांक्षासहित उनी चुनावी मैदानमा उत्रिएका हुन्। यही प्रतिबद्धताका साथ उनी मतदातासँग सिधा संवाद गर्दै आफ्नो अभियानलाई निरन्तरता दिइरहेका हुन् ।










प्रतिक्रिया