बकैयामा खुला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न

बकैयामा खेलकुद

बकैयामा खुला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ पुष २०८२, ०३:५३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ पुष २०८२, ०३:५३

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आज पौष १९ गते शनिबार खुला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। हात्तीखोला युवा क्लबको आयोजनामा तथा बकैया गाउँपालिका–७ नम्बर वडा कार्यालयको सहकार्य, बकैया गाउँपालिकाको समन्वय र बकैया एथलेटिक्स संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामी ‘छिन्तु’ रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान (मधु) तथा वडा नम्बर ७ का अध्यक्ष मानबहादुर सिङ्तान (रमेश) उपस्थित रहनु भएको थियो। साथै बकैया खेलकुद विकास समितिका अध्यक्ष तथा संयोजक विजय लामा थिङ्गलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुलामीले यस्ता खेलकुद कार्यक्रमले वडा, पालिका हुँदै राष्ट्रकै पहिचान स्थापित गर्न मद्दत गर्ने र नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। आगामी दिनमा पनि यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिँदै उहाँले आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्दै रिबन काटेर कार्यक्रमको उद्घाटन गर्नुभयो।

प्रतियोगितामा करिब ५० जना खेलाडीको सहभागिता रहेको थियो। आजको कार्यक्रममा दुईवटा दौड प्रतियोगिता एकैसाथ सम्पन्न भएका थिए। भेड्रासतर्फ ३ किलोमिटर दौडमा १० जना खेलाडी सहभागी भएका थिए। उक्त दौडमा भक्तबहादुर भ्लोन प्रथम, छोटेलाल जिम्बा दोस्रो र बिमल नेपाल तेस्रो हुन सफल भए। विजेताहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यस्तै खुला ५ किलोमिटर दौड प्रतियोगितामा दिपक रावलले १५ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गर्नुभयो। उहाँले नगद रु १५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। दोस्रो स्थान नागेश्वर अहिरले १५ मिनेट ३१ सेकेन्डमा हासिल गर्दै नगद रु १०,००० प्राप्त गर्नुभयो भने तेस्रो स्थान भुपेन्द्र सुनारले १६ मिनेट ०३ सेकेन्डमा दूरी पार गर्दै नगद रु ५,००० प्राप्त गर्नुभयो।

चौथो स्थान युनिक श्रेष्ठ (१६ मिनेट ११ सेकेन्ड) ले नगद रु ३,००० प्राप्त गर्नुभयो। पाँचौँ रुपक माझीले नगद रु २,०००, छैटौँ अशोककुमार साह र सातौँ राजकुमार गोलेले जनही नगद रु १,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हात्तीखोला युवा क्लबका अध्यक्ष जिकेश सापकोटाले जानकारी दिनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस