आज तिहारको पहिलो दिन काग तिहार महत्व र धार्मिक प्रभाव

काग तिहार

आज तिहारको पहिलो दिन काग तिहार महत्व र धार्मिक प्रभाव

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ कार्तिक २०८२, ०६:२९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ कार्तिक २०८२, ०६:२९

उज्यालोको पर्व भनेर चिनिने तिहारको आज पहिलो दिन काग तिहार ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ।

तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार र पाँचौँ दिन भाइटिका गरी पाँच दिनसम्म मनाइन्छ।

वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। नेपाली समाजमा अझै पनि काग करायो भने पाहुना आउँछ भन्ने जनविश्वास रहेको छ। यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही भात लगायतका मिठा परिकार अर्पण गर्ने चलन छ। ‘काकेन दधि भक्षितम्’ कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश पुर्‍याउँछ भन्ने धार्मिक विश्वास छ।

कागलाई नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने पनि मान्यता छ। त्यसैले आजको दिन कागलाई प्रसन्न पार्दै यमदण्डरूपी संकटबाट मुक्त रहोस् भनेर प्रार्थना गरिन्छ। यो पर्वले धार्मिक पक्ष मात्र नभई मानिस र जनावरबिचको सम्बन्ध, पक्षीप्रति कृतज्ञता, तथा प्रकृतिप्रतिको सम्मानको सन्देश पनि दिन्छ।

धर्मशास्त्र अनुसार यमराजले पृथ्वीमा रहेका सबै जीवहरूको जन्म मृत्युको विवरण राख्ने गर्छन्। सो विवरण ल्याउने र लैजाने कार्य कागले गर्छ भन्ने विश्वास आज पनि रहँदै आएको छ। आकाश मार्गबाट छिटो सन्देश ल्याउने र पठाउने क्षमताका कारण यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति पाइन्छ।

त्यस्तै, अर्को धार्मिक किंवदन्ती अनुसार वैदिक कालमा असुरराज बलि अत्यन्त दानी राजा थिए, जसका कारण देवताहरू समेत त्रसित थिए। भगवान् विष्णुले वामन अवतार धारण गरी ब्राह्मणको भेषमा बलिसँग तीन पाउको स्थान माग्दा, उनले पृथ्वी, अन्तरिक्ष र अन्ततः आफ्नो शिर अर्पण गरेका थिए। विष्णुले बलिको दानशीलताबाट प्रसन्न भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म–पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ। यही अवधिमा तिहार पर्व मनाइने गरिन्छ।

आजको दिन काठमाडौँको कागेश्वरी मनोहरा महादेव मन्दिरमा विशेष पूजा आराधना भइरहेको छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा तथा दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस