राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको छ ।
आइतबार समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको बैठकले सो दिनको प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको हो ।
आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा, नेपालका अध्यक्ष कमल थापा लगायतको उपस्थिति थियो ।
चैत १५ गतेको प्रदर्शनमा सरकारले दमन गरेर आन्दोलन भड्काएको समेत आरोप लगाएको छ । जनआन्दोलन समितिले यसअघि नै जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरिसकेको थियो । उक्त दिनको आन्दोलन सफल बनाउन आवश्यक कार्यक्रम तय गर्न आइतबार बैठक बसेको जनाइएको छ ।
‘जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन काठमाडौं बाहिरका जनतालाई काठमाडौं आउन आह्वान गर्ने,’ आइतबारको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘काठमार्डौका जनता र सबै वर्ग, पेशा र समुदायलाई सक्रिय सहभागीताका लागि आह्वान गर्ने ।’उक्त दिनको आन्दोलन पूर्णतया शान्तिपूर्ण रहने समितिले बताएको छ । त्यस्तै, विचार र अभिव्यक्ति स्वतन्त्रता निषेध गर्न कानुन बनाउने सरकारको तयारीको विरोध गर्ने निर्णय पनि भएको छ ।
बैठकले तीनकुने घटनाको सन्दर्भमा पक्राउ परेकाहरूलाई तत्काल रिहाइको माग गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया