चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको मृत्यु डाक्टर प्रहरी नियन्त्रणमा

मृत्यु

चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको मृत्यु डाक्टर प्रहरी नियन्त्रणमा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२८ बैशाख २०८२, ०६:१८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२८ बैशाख २०८२, ०६:१८

मधेश प्रदेशका मुख्यमन्त्रीले प्रदेश भित्र रहेका सरकारी तथा निजि अस्पतालमा जतिनै अनुगमन तथा निरिक्षण गरे पनि अस्पताल र चिकित्सकको लापरवाही भने रोकिन सकेको छैन ।

सिरहाको गोलबजारमा रहेको बर्धमान अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएकी एक सुत्केरीको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–११, सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भएको हो । अस्पताल र चिकित्सकको लापरबाहीले मृत्यु भएको परिवारका सदस्यले दाबी गरेका छन् ।

शुक्रबार बिहान व्यथा लागेपछि रामकाशीलाई मिर्चैया–६ स्थित सरकारी अस्पताल लगिएको थियो । तर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सारिका गोइतले नसा विशेषज्ञ नभएको भन्दै उनलाई सिधै निजी बर्धमान अस्पतालमा रेफर गरेकी थिइन् ।

बर्धमान अस्पतालका सञ्चालक तथा शल्यचिकित्सक डा. तेजशंकर यादवले शल्यक्रिया गरेका थिए । रामकाशीले छोरालाई जन्म दिइन् तर आफै भने रहिनन।

तर शल्यक्रियामा भएको लापरबाहीले अत्यधिक रक्तस्राव भएर अवस्था सिकिस्त भएको र पटक–पटक सुविधासम्पन्न अस्पतालमा रिफर गरिदिन आग्रह गरेपनि समयमा नगर्दा छोरीको मृत्यु भएको बुवा महेश्वर यादवको आरोप छ ।

उनका अनुसार अस्पतालले यहाँ ठीक हुने आश्वासन दिँदै आज बिहान ३ बजे मात्र उनलाई विराटनगरस्थित न्युरो अस्पताल रिफर गरिएको थियो ।

तर बिहान ५ बजे त्यहाँ पुग्दा उनको निधन बाटोमै भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।

‘शल्यक्रियामा लापरबाहीको कारण रक्तस्राव भयो । अवस्था जटिल भएपछि रिफर गरिदिन पटकपटक भन्यौं । तर यहीँ ठिक हुने भन्दै रेफरमा ढिलाई गर्दा अस्पताल र चिकित्सक दुवैको कारण मेरो छोरीको अकालमा ज्यान गुमेको छ । हामीलाई न्याय चाहियो,’ बुवा महेश्वरले भने ।

घटनापछि आक्रोशित स्थानीयवासी र परिवारले शवसहित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दकुमार साहको टोलीले डा. तेजशंकर यादवलाई नियन्त्रणमा लिएको छ । औरही–४ की राधा दासको नवजात शिशुको मृत्यु प्रकरणमा पनि उनीमाथि संलग्नताको आरोप लागेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस