नेपाली रेडियो नेटवर्कद्वारा नेपालमै पहिलोपटक एआई नीति जारी

नेपाली रेडियो नेटवर्कद्वारा नेपालमै पहिलोपटक एआई नीति जारी

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१ फाल्गुन २०८१, ०६:०९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१ फाल्गुन २०८१, ०६:०९

काठमाडौं। ‘नेपाली रेडियो नेटवर्क‘ ले ‘कृत्रिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स(एआई)‘ नीति जारी गरेको छ।

‘विश्व रेडियो दिवस‘को अवसरमा आज (बिहिबार) एक कार्यक्रमको आयोजनाबिच उक्त नीति जारी गरिएको हो ।

एआईको सही, जिम्मेवार र विश्वसनीय प्रयोग गरी रेडियो सामग्री उत्पादनदेखि प्रसारणसम्मका कार्य गर्ने उद्देश्यले एआइ नीति जारी गरेको रेडियोका समाचार निर्देशक जीवन भण्डारीले जानकारी दिए ।

एआइ नीतिमा एआइको प्रयोग गर्दा सही तरिकाले जिम्मेवार र विश्वसनीय हुनेगरी मात्रै गरिने, कुनै पनि रेडियो सामग्री संकलन, लेखन, निर्माण, सम्पादन र प्रकाशन वा प्रसारणमा एआइको उचित प्रयोग गरिने, एआइको प्रयोग भएमा त्यसको जानकारी गराइने, एआइको प्रयोगबाट कुनै गल्ती कमजोरी र हानि भएमा त्यसको जिम्मेवारी सञ्चारमाध्यम र पदाधिकारीहरूले नै लिइने, समाचार तथा कार्यक्रम र विज्ञापन उत्पादन तथा प्रसारणका सिलसिलामा एआइको प्रयोग गरेपनि अन्तिम निर्णय मानव पदाधिकारीबाट नै गरिने उल्लेख छ ।

त्यसैगरी एआई मार्फत सिर्जित सबै सामग्रीको पुनस् परीक्षणपछि मात्रै प्रयोग गरिने, एआइको प्रयोगकै कारणले मानव शक्तिलाई विस्थापित नहुनेतर्फ भर मजदुर प्रयास गरिने, एआइको प्रयोगका लागि जनशक्तिलाई अभिमुखीकृत गर्दै सक्षम बनाइने, एआइको अभ्यासबाट प्राप्त तथ्य, तथ्याङ्क तथा सिर्जनाहरूको प्रतिलिपि अधिकार ख्याल गरिने, एआइको सहयोगमा तयार पारिएका सामग्रीबारे गुनासो लिने र सुनवाई गर्ने व्यवस्था गरिने व्यवस्था पनि नेपाली रेडियो नेटवर्कको एआई नीतिमा लेखिएको छ।

एआइ नीति घोषणा कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा अन्य मिडियाहरूले एआई नीति जारी गरेको आफूलाई जानकारी नभएको उल्लेख गरे ।

नेपाली रेडियो नेटवर्कले एआई नीति जारी गरि सिंगो देशलाई नै एआईप्रति थप जिम्मेवार र जवाफदेही बन्न प्रेरित गरेको उनको भनाइ थियो । अध्यक्ष बस्नेतले एआई नीति सफल कार्यान्वायनको लागी आवश्यक सहजीकरण गर्ने र नेपालमा रहेका अन्य एआई प्रयोगकर्ताहरुलाई पनि यसतर्फ प्रेरित गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा ‘नेपाली रेडियो नेटवर्क‘का अध्यक्ष ऋषी धमलाले नीति पूर्ण रुपमा कार्यान्वायन गर्ने अठोट व्यक्त गरे । उनले नेपाली रेडियो नेटवर्क विश्वमा विकसित सुचना प्रविधीहरुको उचित सदुपयोग गरि आम श्रोतामा विश्वसनिय समाचार सम्प्रेषणमा अग्रसर रहेको बताए । उनले एआई जस्ता प्रविधीको प्रयोगले रेडियोहरूलाई थप प्रभावकारी बनाउने आशा व्यक्त गरे।

नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीले विश्वभर बढ्दो सुचना प्रविधीको विकास र आयामलाई भरपुर सदुपयोग गर्नुपर्ने भएकाले एआइ नीति जारी गरिएको जानकारी दिए ।

उनले रेडियो सामग्री संकलन, लेखन, निर्माण, सम्पादन र प्रकाशन वा प्रसारणमा एआइको उचित र जिम्मेवार तरिकाले प्रयोग गर्ने बताए ।

पछिल्लो समय नेपालमा पनि एआईको प्रयोग तीव्र रुपमा बढ्दै गइरहेको छ भने सञ्चार क्षेत्रमासमेत यसको प्रयोग व्यापक रूपमा भइरहेको छ । एआइको दुरुपयोगलाई न्यूनीकरण गर्न र यसका सकारात्मक पक्षहरूलाई प्रवर्द्धन गर्न विदेशका धेरै सञ्चार संस्थाहरुले पनि एआइ नीति जारी गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस