देउवालाई प्रश्न: महिलालाई बाहिर पारेर कसरी संगठन बलियो हुन्छ?

देउवालाई प्रश्न: महिलालाई बाहिर पारेर कसरी संगठन बलियो हुन्छ?

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०१:३५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०१:३५

नेपाल महिला संघले पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा कम्तिमा एक तिहाइ महिलालाई दिनुपर्ने बताएको छ।

सभापति शेरबहादुर देउवालाई भेटेर संघकी अध्यक्ष उमा रेग्मी नेतृत्वको टोलिले वडादेखि केन्द्रसम्म कम्तिमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको हो।

पार्टीको विधानमा एक तिहाइ महिला प्रतिनिधित्व १४ औं महाधिवेशनदेखि सुनिश्चित हुने उल्लेख रहेको स्मरण गराउँदै संघले देउवालाई क्रियाशील सदस्यता वितरण गर्दा महिलालाई प्राथमिकता दिन माग गरेका हुन्।

कांग्रेसमा अहिले चार लाख ७० हजार बढी क्रियाशील सदस्य छन्। १४ औं महाधिवेशनसम्म आठ लाख सदस्य बनाउने कांग्रेसको तयारी छ।

‘तीन प्रतिशत महिलाले मात्रै क्रियाशील सदस्यता पाएका छन्,’ अध्यक्ष रेग्मीले देउवालाई बुझाएको ज्ञापनपत्रमा भनेकी छन्, ‘संगठन विस्तारमा दु:ख गर्ने र कार्यक्रममा सक्रिय सहभागी हुने महिलाले क्रियाशील सदस्यता पाएका छैनन्।’

आधाभन्दा बढी जनसंख्या रहेको महिलालाई पार्टीको मुलधारबाट बाहिर पारेर कसरी संगठन बलियो हुन्छ भन्ने प्रश्न पनि देउवालाई महिला संघले सोधेको छ। ‘गुटको असर महिलालाई परेको छ। लाखौं महिलाले क्रियाशील सदस्यता पाउनबाट बञ्चित छन्,’ उनले भनेकी छन्, ‘महिलालाई पार्टीको मुलधारबाट बाहिर पारेर कसरी पार्टीको संगठन बलियो हुन्छ?’

न्युनतम एक तिहाइ महिलालाई क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्थाका लागि पहल गरिदिन संघले सभापति देउवालाई आग्रह गरेका हुन्।

कांग्रेसले ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन तोकेको छ। महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सुरू भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस